पु.समाचार

नेपालमा अहिलेसम्मको कोरोना संक्रमणको अवस्था !(विष्तृत)

९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमणको कारणले आज एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दैलेख दुल्ल नगरपालिका–३ घर भएका ४५ वर्षीय पुरुषको कोभिड–१९ को कारण मृत्यु भएको जानकारी दिइयो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती व्यक्तिको सुर्खेतस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको क्रममा हिजो असार ८ गते मृत्यु भएको हो । उनी क्षयरोग र दमका बिरामी रहेका थिए ।

दैलेखको दुल्लु अस्पतलामा उपचार नभएपछि यही असार ३ गते प्रादेशिक अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । मृतक व्यक्तिको यही असार ३ गते स्याब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनीसँगै अहिलेसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।

आज ५३८ सङ्क्रमितसँगै दश हजारभन्दा बढी पुगे

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज ५३८ जनामा देखिएको छ । पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४४८ पुरुष र महिला ९० जनामा सङ्क्रमण देखिएका छ । हिजो सोमबार ५३५ जनामा सङ्क्रमण देखिएको थियो ।

आज थपिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । तीमध्ये महिला ९८४ र पुरुष नौ हजार ११५ जना रहेका छन् ।

७६ जना ‘डिस्चार्ज’

मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न अस्पतालबाट ७६ जनालाई घर पठाइएको जानकारी दिए । उनका अनुसार आठ महिला र ६८ पुरुष आज डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज हुनेसँगै डिस्चार्जको सङ्ख्या दुई हजार १२४ जना रहेका छन् । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ जना महिला रहेका छन् ।

उनका अनुसार डिस्चार्ज हुनेमा गोठगाउँ आइसोलेशन झापा एक पुरुष, कोशी अस्पतालबाट झापाका एक महिला र तीन पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र तीन पुरुष, मोरङका १४ पुरुष रहेका छन् ।

यस्तै रामेछाप अस्पताल रामेछापबाट १३ पुरुष, साइकृष्ण आइसोलेशनबाट सप्तरीका दुई महिला र तीन पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र नौ पुरुष, कोभिड–१९ अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी बेनी अस्पताल म्याग्दीका दुई पुरुष र धौलागिरि अस्पतालबाट वागलुङका तीन पुरुष, स्याङ्जा अस्पतालबाट तीन पुरुष, गोरखा अस्पतालबाट सात पुरुष, जीपी कोइराला शुक्लागण्डकीबाट दुई पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी ह्याम्स अस्पताल काठमाडौँबाट कास्कीका एक पुरुष, कालिका अस्पताल भिरकोटबाट स्याङ्जाका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लमजुङका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङ्जाका एक महिला र कास्कीका तीन पुरुष पनि डिस्चार्ज भएका छन् ।

यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।