समाचार

मुलुकलाई चिनाउने वृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

९ असार काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्घीय गणतन्त्र अनुकूल मुलुकलाई चिनाउने वृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ गरेको छ । स्थापनाको ६३औँ वर्ष प्रवेशका अवसरमा आज विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक प्रदेशका सम्पूर्ण पक्ष समेटिएका एक एक ग्रन्थ र ती सबैको एउटा सिङ्गो रूप ‘नेपाल दर्पण’ तयार गरी त्यसलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशन गरिने जानकारी दिएका हुन्।

बन्दाबन्दीका कारण वार्षिकोत्सव कार्यक्रम आयोजना नगरेको प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने, ‘नेपाली वृहत् शब्दकोश’लाई युगानुकूल प्रविधिमुखी बनाउन एपमा लैजाने, ‘नेपाली वृहत् शब्दकोश’ को परिमार्जित दशौँ संस्करण प्रकाशन गर्ने, नेपालका सम्पूर्ण साहित्यकार र कलाकारको परिचयात्मक ग्रन्थ साविकको ‘साहित्यकार–कलाकार परिचयकोश’लाई परिमार्जनसहित ‘लेखक–कलाकार परिचयकोश’ का रूपमा प्रकाशन गर्ने, लगभग डेढ लाख शब्दहरू समेटिएको ‘प्रज्ञा नेपाली वृहत् शब्दकोश’ प्रकाशन गर्ने, नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनहरू समेटिएको ‘नेपाली दर्शन’ ग्रन्थ प्रकाशन गर्ने कामलाई पनि निरन्तरता दिइएको जनाएको छ ।

कुलपति उप्रेतीले विभिन्न मित्रराष्ट्रसँग सांस्कृतिक तथा साहित्यिक सम्बन्ध विस्तार गरेर नेपाली वाङ्मयलाई विश्वव्यापीकरण गर्ने जस्ता दूरगामी प्रभाव पार्ने खालका कामलाई योजनावद्ध तरिकाले अगाडि बढाएको उल्लेख गरेका छन्  । विसं २०१४ साल असार ९ गते नेपाली साहित्य कला एकेडेमीका नामबाट प्रतिष्ठानको स्थापना भएको थियो ।

पछि ऐन जारी हुँदा नेपाल एकेडेमी हुँदै नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान नाम रहेको यो प्रतिष्ठान २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनको सफलतापछि २०६४ मा जारी ऐनअनुसार हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा सञ्चालित छ ।

यसले नेपालका भाषा, साहित्य, कला, दर्शन, इतिहास, संस्कृति, पुरातत्व, सङ्गीत, समाजशास्त्र, मानवशास्त्र, विज्ञान आदि विषय र तिनका विभिन्न विधा–उपविधाको अध्ययन–अनुसन्धान, विमर्श तथा प्रकाशन गर्ने र नेपालको गौरवलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसमेत गर्ने उद्देश्य लिएको छ ।

वार्षिकोत्सवमा हुँदै आएको राष्ट्रिय कविता महोत्सव–२०७७ हाल स्थगन भएको र उपयुक्त समयमा आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । महोत्सवका लागि गत जेठ २५ गतेसम्म तोकिएको समयमा ५०२ प्रतियोगी कविता प्राप्त भएका थिए ।