खेलकुद

रोनाल्डोको गोलमा युभेन्ट्सले सिरि ए फुटबलमा निकाल्यो सहज जित

९ असार एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ । कोरोना महामारीपछि सिरि एमा युभेन्ट्सले आफ्नो पहिलो खेलमा तालिकाको बीचमा रहेको बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो ।

पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ । रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । म्याथिज डी लिटलाई स्टेफानो डेन्सविलले फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । पाउलो ड्याबालाले ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खादै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । ईटालीको फुटबल सुरु भएपछि युभेन्ट्सले दुई खेलमा गोल गर्न सकेको थिएन । कोपा ईटालियामा युभेन्ट्सले एसी मिलानसंग सेमिफाईनलको दोस्रो लेगमा गोल रहित बराबरी खेलेको थियो ।

फाईनल खेलमा समेत नापोलीसंग निर्धारित समयमा कुनै गोल गर्न सकेन । पेनाल्टी सुटआउटमा पराजित भएपछि उसले कोपा ईटालियाको उपाधि समेत गुमाएको थियो । सोमबार राति समेत उसले केही गल्तीहरु गर्न पुग्यो । तर विपक्षी बेलोग्नाले कुनै फाईदा उठाउन सकेन ।

सोही कारण युभेन्ट्सले सिरि एमा लगातार चार खेलमा जित निकाल्न सफल भयो । युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । बेलोग्ना ३४ अंक सहित १० औं स्थानमा यथावत छ ।