लुम्बिनी

पहिराले गुल्मीमा ४२ घरपरिवार विस्थापित

८ असार, गुल्मी । पहिराका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन् । पहिराले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका– ७ बेदुखर्कका १४ घरधुरीका ६४ जना, रेसुङ्गा– ९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका– १ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति पहिराका कारण विस्थापित बनेका हुन् ।

पहिराको जोखिमका कारण विस्थापित बनेकामध्ये इस्मा गाउँपालिका– ४ रातामाटाका ११ घरपरिवारले स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा आश्रय लिएका छन् भने अन्य विस्थापित परिवार भने आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका प्रहरी निरीक्षक रावलले बताए ।

अव्यवस्थितरुपमा सडक निर्माण, सडक निर्माण गर्दा निर्माण व्यवसायीको लापरवाही, सडक छेउछाउमा अलपत्र अवस्थामा राखिएका निर्माण सामग्री र उचित स्थानमा ढल र नालीको व्यवस्थापन नहुनु तथा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्नु जस्ता समस्याले आएको पहिराले विस्थापित हुनुपरेको पीडितले गुनासो गरेका छन् ।

पहिराले रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो गएपछि रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरे, सत्यवती गाउँपालिका– ४ को नादेवा खोला, वडा नं ५ को बाँदरे भिर र वडा नं ६ को डहरे खोलालगायतका स्थानमा पहिरो खसेपछि आज अपराह्न सडक अवरुद्ध बनेको हो ।

गत सातादेखि लगातार परेको वर्षाका कारण उक्त सडक खण्डका धेरै भागमा पहिरो जाने र सडक अवरुद्ध हुने गरेका कारण दैनिक चार पटकसम्म डोजरमार्फत पहिरो हटाउने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। रिडीहुँदै बाग्लुङको ढोरपाटन नगरपालिकासम्म पुग्ने उक्त सडक जिल्लामा सबैभन्दा धेरै सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

त्यसैगरी आज बिहानदेखि अवरुद्ध बनेको तम्घास–रिडी सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्रको खनियाँरुख नजिकै सडक माथिबाट खसेको पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले बताए । वर्षाका कारण पहिरो खसेसँगै सडक भत्किएपछि जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण सडक पनि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।