बाग्मती

क्यान्सर अस्पतालले गर्यो महामारीबारे छलफल

८ असार, काठमाडौं । आज नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा घरमै ‘होम क्वारेण्टिन’मा कोरोना भाइरस संक्रमितहरु बस्दा अपनाउनु पर्ने सावधानीहरुका विषयमा एक अन्तरक्रिया कार्यक्रम संचालन भएको छ।
हस्पिटलमा काम गर्ने सम्पूर्ण कर्मचारीहरु, अझ विशेषतः बिरामीहरुसंग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुमा संक्रमण देखीईहालेमा र तुरुन्त अस्पतालमा भर्ना गर्न नपर्ने स्थिति देखा परेमा घरैमा बसी सुरक्षित रुपमा कसरि कोभिड–१९ संग लड्न सकिन्छ भन्ने विषयमा हस्पिटलका सर्जिकल नर्सिङ्ग विभागका सुपरभाइजर श्रीमती सबिता पौडेल तथा सर्जिकल रजिस्ट्रार डा आतिश दर्शन वज्राचार्यले आफ्नो मन्तव्य राखेको अस्पतालले जनाएको छ।

अब यस कोविड़–१९ महामारी ले विश्वव्यापी रूप लिईसकेको र यसको विरुद्धमा भ्याक्सिन पनि छिट्टै विकसित हुने कुनै संकेत नदेखिएकाले अबको हाम्रो कदम सकेसम्म विस्तारित रुपमा संक्रमणले हाम्रो स्वास्थ्य संसाधनलाई जित्न नदिने परिस्थितिको सिर्जना गरी यस्ता संसाधनहरुको प्रयोगमा रोग प्रतिरोधात्मक क्षमता कम भएका क्यान्सर बिरामी, बृद्दबृद्दा तथा अन्य जोखिमपूर्ण समुहलाई प्राथमिकतामा राख्नुपर्ने कुरा उनीहरुले बताए।

घरमै पनि हल्का लक्षण भएका संक्रमितहरुले आफ्नो हातको सफाई, मास्कको प्रयोग तथा अन्य स्वच्छ आनीबानीको प्रोत्साहन गरेमा आफूबाट अरुमा हुने संक्रमण धेरै नै हदसम्म निर्मुल पार्न सकिने कुरा कार्यक्रममा प्रकाश पारिएको थियो। संक्रमितले सकेसम्म छुट्टै सुत्ने कोठा तथा चर्पीको प्रयोग गर्ने, एक्लै आफ्नै कोठामा बसी खाना खाने तथा आफ्नो मास्क, टिश्यु पेपर जस्ता भाइरसको संचय हुने उपकरणहरुको प्रयोगपछि उचित व्यवस्थापन गर्ने कार्यहरुले संक्रमणको जोखिम धेरै कम हुने डाक्टरले बताए।

संक्षेपमा अब नेपालमा सामाजिक स्तरमै संक्रमणको जोखिम बढ्न लागेकाले हस्पिटलहरुमाथि अझ धेरै भार बढ्न जाने हुँदा आ–आफ्नो घरमै सुव्यवस्थित योजना बनाइ क्वारेण्टिनको व्यवस्था मिलाउन सकेमा यसले कोविड़–१९ को जोखिम न्यूनीकरण गर्ने सकिने कार्यक्रमका सहभागीहरुले बताए।