गण्डकी प्रदेश

स्वास्थ्य मन्त्रालयद्वारा दमौली अस्पताललाई एनेस्थेसिया उपकरण हस्तान्तरण

८ असार, दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तनहुँको दमौली अस्पताललाई एनएस्थेसिया मेशिन उपलब्ध गराएको छ । निक साइमन फाउण्डेशनले मन्त्रालयलाई उपलब्ध गराएको उक्त मेशिन मन्त्रालयले अस्पताललाई हस्तान्तरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालका स्वकीय सचिव राजेश शर्माले उक्त उपकरण दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेललाई हस्तान्तरण गरे। एनएस्थेसिया मेसिन बिरामीलाई पूर्णतः बेहोस बनाउने मेसिन हो । इञ्जिनीयरले उक्त मेसिन अस्पतालमा जडान गरिदिने र अस्पतालका डाक्टर, नर्स र ल्याबकर्मीलाई तालिम दिइएपछि मेशिन सञ्चालन गर्न सकिने अस्पतालका डा. पौडेलले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यकपर्ने भेन्टिलेटरसहितको उक्त उपकरणको मूल्य करिब रु २३ लाख पर्ने बताइएको छ ।

विनाअक्सिजन शल्यक्रिया गर्न सकिने उक्त मेसिन गण्डकी प्रदेशको दमौलीसहित स्याङ्जा अस्पताललाई पनि हस्तान्तरण गरिएको छ । त्यस्तै सङ्खुवासभा अस्पताल, गाईघाट अस्पताल उदयपुर, दमक अस्पताल झापा, लहान अस्पताल सिरहा, कलैया अस्पताल बारा, त्रिशूली अस्पताल, दोलखा जिल्ला अस्पताल, वीर अस्पताल, भरतपुर अस्पताल, गुल्मी अस्पताल, पृथ्वीचन्द्र अस्पताल र कालीकोट अस्पतालमा पठाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।