प्रदेश 1

काँग्रेसका अवराेधका कारण प्रदेश नं.१ को प्रदेशसभाको बैठक स्थगित

८ असार, विराटनगर । प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक/पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए । सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उनले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार कार्कीले संसद्मा उठेका प्रश्नहरुको मुख्यमन्त्री शेरधन राईले जवाफ दिनुपर्ने नभए संसद् चल्न नदिने बताए ।

उनले सरकारले कोरोना उपचार, रोकथाम एवं नियन्त्रणमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गरे । सचेतक कार्कीले प्रदेश सरकारको सचिव काठमाडौँ जाँदा प्रमुख जिल्ला अधिकारीसँग अनुमति पत्र लिनुपर्ने कुराको विरोध गरे । सरकारले यसै अधिवेशनमा प्रदेशको नामकरण गर्नुपर्ने र सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुको समस्यालाई उचित सम्बोधन हुनुपर्ने माग गरे ।

दश मिटनका लागि सदन स्थगन भएर पुनःशुरु भएपछि काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाए । भोलि सदनमा मुख्यमन्त्री शेरधन राईले जवाफ दिने आश्वास प्राप्त भएको सूचनालाई पनि सांसदहरुले नमानेपछि असार ९ गते दिउँसो १ बजे संसद्को अर्को बैठक बस्ने सभामुख भण्डारीले जानकारी दिए ।