बाग्मती

चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने

८ असार काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ ।

काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिएका छन् ।

“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ”, उनले भने । नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताएका छन् ।

वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ । चन्द्रागिरीमा १५ वडा छन् । आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब ७४ करोडको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७/०७८ मा रु एक अर्ब ७० करोड हाराहारीको वजेट प्रस्तुत गर्दैछ ।