लुम्बिनी

फरार अभियुक्त १६ दिनपछि पक्राउ

परासी, ८ असार । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम–१६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ २१ गते नवलपरासीको परासी–महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन–३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल फरार रहेकामा खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिएका छन् ।

घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उनको भनाइ थियो ।