समाचार

हेटौँडा–कुलेखानी – काठमाडौँ सडकखण्डमा पहिरो, हटाउन शुरु

८ असार काठमाडौं । हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिएका छन् ।

बेँसीशहर –चामे सडक पुनः अवरुद्ध

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर –चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, “सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।”

पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यआवश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उनको भनाइ छ । सडक कति बेला पुनःसञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।