सूचना प्रविधि

सडकको लापरवाहीले टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

७ असार, काठमाडौं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४ गरी चारवटा वडाको सेवाका कारण एक हजार ६०० टेलिफोन एवं एडिएसएल सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोरपाटी शाखाका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा बन्दाबन्दीमा घरमै बसेर इन्टरनेट सेवाका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।

घरमै बसेर काम गरिरहेका बेला पूर्वसूचना एक्कासि सेवा अवरुद्ध हुँदा दुःख पाएको स्थानीयवासी श्यामबहादुर श्रेष्ठले गुनासो गरे । निजी सवारी पनि जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएकाले आजदेखि कसरी काम गने भन्ने चिन्ता बढेको उनको भनाइ थियो । ढल बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले समन्वय नगर्दा यो समस्या आएको टेलिकमले जनाएको छ ।

जोरपाटी–सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए ।

विकास निर्माणका काममा सरकारी कार्यालयबीच नै समन्वय नहुँदा विद्युत्, टेलिफोन र खानेपानी जस्ता अत्यावश्यक सेवा पटकपटक अवरुद्ध हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन ।

सुन्दरीजल क्षेत्रमा सडक विस्तारको काम गर्नु अघि गोकर्णेश्वर नगरपालिकाले समेत समन्वय गरेर पत्राचार गरेको थियो । यसपटक नगरपालिकाले पनि कुनै जानकारी नगराएको टेलिकमले जनाएको छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना आयोजनाले समन्वय गर्न भनेका काममा सहयोग गरिएको बताउछन् । यसपटक आयोजनाले केही नभनेकाले के भएको आफूले बुझेर अवरुद्ध सेवा छिटो सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता छ ।नगरपालिकाले ढल बिच्छ्याइरहेकाले नयाँबस्ती क्षेत्रको ५०० लाइन टेलिफोन पनि अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा पनि इन्टरनेटका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।