अन्तर्राष्ट्रिय

पाकिस्तानमा सङ्क्रमित एक लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४ पुगे

७ असार, इस्लामाबाद । पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।

पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ सङ्क्रमित रहेका छन् ।
आइएसआई कमाण्डरको सङ्क्रमणका कारण मृत्यु

पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स÷आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पाकिस्तानी स्रोतहरूका अनुसार उनी आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर थिए । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर)भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई  आवश्यक सतर्कता अपनाउन आग्रह गरेका थिए।