बाग्मती

सङ्क्रमित सबै घर फर्किएसँगै कोरोनामुक्त काभ्रेपलाञ्चोक

६ असार, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ ।

काभ्रेपलाञ्चोकका सङ्क्रमित छ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरु दुई सातादेखि काठमाडाँै मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए । सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कारोना भाइरस नेगेटिभ देखिएपछि छजना नै शुक्रबार साँझ घर फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ । यसपछि काभ्रेपलाञ्चोक कोरोना भाइरसमुक्त भएको हो ।

पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टिनमा बसाइएको छ । सङ्क्रमितमध्ये दुई महिला हुन् । रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एक तथा काभ्रेपलाञ्चोक घर भई एक ललितपुर र एक काठमाडाँै बस्नेमा कोरोना सङ्क्रमण भएको थियो । सङ्क्रमितमध्ये चार जना भारतबाट फर्किएका नागरिक रहेको पोष्टले जनाएको थियो ।

डिस्चार्ज भई होम क्वारेन्टिनमा बसेकाको स्थानीय स्वास्थ्यकर्मीबाट निगरानी गरिने झाले बताए । सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको झाले बताए। पोष्टका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा भारतलगायत विदेशबाट फर्किएका २२ महिलासहित ८७ जना बसेका छन् ।

यसअघि गत जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।

त्यसो त, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० श्यया क्षमताको बनाउने तयारी गरिएको हो । मण्डन देउपुर नगरले हालै मात्र १०० श्ययाको क्वारेन्टिन व्यवस्थित गरेको छ । साथै, विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना हुन थालेपछि सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले संयुक्त रुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारीमा जुटेका छन् ।

केन्द्र र पोष्टले संयुक्त रुपमा क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन सोही अनुसार क्वारेन्टिनको बसाइ तथा सेवा दिने व्यवस्थापनका लागि आवश्यक तयारीमा जुटेका छन् । तेस्रो मुलुकबाट फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ ।

विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टिनमा राख्ने तयारीसमेत गरिएको छ । हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०७ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका थिए ।