लुम्बिनी

वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा मृत्यु

६ असार, तम्घास । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् ।
धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पङ्कज चुँदालीले जानकारी दिए । साविकको हाडहाडे गाविस वडा नम्बर २ बाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो ।

जीपमा सवार पाँचमध्ये दुई जनाको अवस्था गम्भीर भएका कारणले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ । गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो । बाँकी तीनको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ ।

स्थानीयवासी ३९ वर्षीय केशव काउछा, २१ वर्षीय खिम काउछा र १८ वर्षीय विशाल काउछाको सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गराइएको छ । जीप पुरिएपछि सामान्यावस्थाका एक घाइते पैदल गाउँसम्म पुगेर खबर गर्दा उद्धारमा ढिलाइ भएको थियो । अहिले घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहले जनाएको छ ।