समाचार

आइसोलेशन श्यया क्षमताभन्दा दोब्बर सङ्क्रमित

६ असार, भीमदत्तनगर । कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित बिरामीलाई आइसोलेशन कक्षमा राखेर उपचार गरिनुपर्ने भए पनि सुदूरपश्चिम प्रदेशमा धेरै सङ्क्रमित अस्पताल सुविधाभन्दा बाहिर छन् । यहाँका नौवटै जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा ३३३ जना सङ्क्रिमत राख्न मिल्ने आइसोलेशन श्यया भए पनि यहाँ शुक्रबार साँझसम्म सङ्क्रमितको सङ्ख्या ७७० जना पुगेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यहाँका आइसोलेशन वार्डमा हालसम्म ११४ जना सङ्क्रमित रहेका छन् भने ४० जना सङ्क्रमणको शङ्कास्पद बिरामी छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले सरकारले गरेको परिपत्रअनुसार नै अहिले यहाँका सङ्क्रमितहरु होम क्वारेन्टिनमा बसिरहेको बताए । “लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम क्वारेन्टिनमा बसेर सावधानी अपनाउन माथिबाटै परिपत्र भएको छ”, उनले भने, “सङ्क्रमितहरु अस्पतालबाहिर रहे पनि सबै स्थानीय तहका स्वास्थ्यकर्मीहरुसितको सम्पर्कमा छन् ।”

निर्देशक डा अवस्थीले लक्षण देखिए मात्रै सङ्क्रमितहरुको आइसोलेशनमा राखेर उपचार गर्ने बताए। त्यसैगरी यहाँका सबैजसो स्थानीय तहहरुले आइसोलेशन कक्षको क्षमता बढाइरहेको उनको भनाइ छ । “यहाँ क्वारेन्टिनहरुलाई नै आइसोलेशन बनाउने काम भइरहेको छ”, डा अवस्थीले भने, “अहिले हरेक स्थानीय तहको जोड आइसोलेशन बनाउनेमै छ ।”

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा दुई सय आठजना सङ्क्रमित रहेका छन् । त्यस्तै डडेल्धुरामा १३१, बैतडीमा १२०, कञ्चनपुरमा ९५, बाजुरामा ६९, अछाममा ५९, डोटीमा ५७, बझाङमा १९ र दार्चुलामा १२ जनामा सङ्क्रमित रहेका छन् । निर्देशनालयका अनुसार हालसम्म सङ्क्रमितमध्ये १२४ जना अस्पतालबाट निको भएर फर्किसकेका छन् । यहाँको सेती प्रादेशिक अस्पतालमा ७४, डडेल्धुरा अस्पतालमा ४०, जिल्ला अस्पताल बझाङमा ३५, भीमदत्तनगरस्थित महाकाली अस्पतालमा ३३, टीकापुर अस्पतालमा ३२ र मालाखेती अस्पतालमा २० श्ययाको आइसोलेशन रहेको छ ।

त्यसैगरी जिल्ला अस्पताल अछाममा १७, बयलपाटा अस्पतालमा १३, बाजुरामा १२, डोटीमा १०, बैतडीमा आठ, जिल्ला अस्पताल दार्चुलामा १३, भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा चार, चौमला प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच, गोकुलेश्वर अस्पतालमा चार, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, जोगबुढा अस्पतालमा आठ र सुदूरपश्चिम प्रहरी अस्पतालमा तीन श्ययाको आइसोलेशन रहेको निर्देशनालयले जनाएको छ ।

त्यसैगरी यहाँका ८८ वटै स्थानीय तहका दुई हजार ६८ स्थानमा क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । यी क्वारेन्टिनमा शुक्रबारसम्म ३७ हजार २०५ जना बसिरहेका छन् । प्रदेशमा पछिल्लो समय भारतलगायत अन्यत्रबाट आउनेहरुको सङ्ख्यामा कमी आए पनि कोरोना परीक्षणको दायरा भने बढाउन सकिएको छन् ।

शुक्रबारसम्म सुदूरपश्चिममा दश हजार २४५ जनाको पिसिआर विधि र ९६ हजार ७६० जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । पिसिआर विधिबाट परीक्षणका लागि लिइएको स्वाबमध्ये चार हजार ७५९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

धनगढीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा दैनिक २५० जनाभन्दा बढीको परीक्षण गर्न सकिरहेको छैनन् । यहाँबाट सङ्कलित नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत पठाउने गरिएको छ । प्रदेश सरकारले बैतडी र डोटीमा समेत पिसिआर मेशिन जडान गरी परीक्षणको दायरा बढाउने निर्णय गरेको दुई महिना बितिसके पनि अझै शुरु हुन सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालय भने पिसिआर मेशिन खरिद प्रक्रियामा गइसकेको र मेशिनहरु असार तेस्रो सातासम्म सुदूरपश्चिम आइपुग्ने जनाएको छ ।