बाग्मती

काँग्रेसद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

६ असार, काठमाडौँ । नेपाली काँग्रेसले नेपाल शिक्षक सङ्घका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । एक वर्षदेखि क्यान्सर रोगबाट पीडित अधिकारीको आज भरतपुर महानगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्तिमार्फत उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विसं २०१० फागुन १५ गते गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सिकोटमा उनको जन्म भएको थियो ।

विसं २०५२ मा तत्कालीन माओवादीको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो । त्यसपछि उन गाउँबाट विस्थापित भएका थिए । तत्कालीन समयमा उन स्थानीय ज्ञानज्योति माविको प्राचार्य हुनुहुन्थ्यो र निवृत्त जीवनपश्चात् काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएका काँग्रेसले जनाएको छ ।

स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थियो । उनका एक श्रीमती र तीन छोरा छन् । उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पार्टी कार्यालयले जनाएको छ ।