साहित्य

प्रकृति र मान्छे

              -किरण कुमार श्रेष्ठ                                               -कविता

चन्द्रमाको भुईं टेकेर
गर्व गरि रहँदा,
मंगलमा वस्ती निर्माणको
कल्पनामा रमाई रहँदा,

समुद्रमाथि शहर
बसाइ हासी रहँदा,
पखेरा र पहाड छेडेर
सुरुङ बनाई रहँदा,

नदीको वहावलाई रोकेर
गन्तब्य नै मोडी रहदा,
उत्तरी ध्रुवबाट, दक्षिणी ध्रुवमा
क्षेप्यास्त्र प्रहार गरिरहँदा,

चौविस घण्टामा नै
गोलार्धको परिक्रमा गरिरहँदा,
घरमै बसेर सारा संसार
नियाली रहँदा,

लागिरहेको छ मान्छेलाई,
संसार दिग्विजय भएको छ,
पृथ्वी मुठ्ठीमा कैद भएको छ,
समुद्र, आकाश र सिङ्गै ब्रम्हाण्ड
आफैंमा वशिभूत भएको छ,
तर,
उता प्रकृति
भित्र भित्रै छटपटाएकी छिन्
भित्र भित्रै निस्सासिएकी छिन्
आफ्नो छातिमाथिको
सिमाहिन दोहनले
बलात्कृत महशुस गरिरहेकी छिन्

पिडा र निश्वास लिएर
निलकण्ठ बनेकी छिन्,
आसु र रगत पिएर
महाकाली बनेकी छिन्

लामा लामा सुस्केरा

हुंकार संग संगै
धेरै पटक, धेरै रात
अनिंदो बसेकी छिन्,
शान्ति र संयमताको खोजीमा
गुफा पसेकी छिन् ।

असह्य पिडा र वेदना हुँदा
पटक पटक संकेत गरेकी छिन्,

कहिले भुकम्प र सुनामी बनेर
कहिले वाढी र आँधी बनेर
कहिले चट्याङ र डढेलो बनेर
कहिले प्रकोप र महामारी बनेर
तैपनि,
मान्छेले यो पिडा र चोट,
पटक पटक बिर्सेको छ,
दोहन र उन्माद जारी छ,
वास्तवमा,
न यो प्रकृतिको जित हो,
न यो मान्छेको जित हो,
अस्तित्व र संतुलनको
संगम र प्रित हो ।
किनकी,
प्रकृति जननी हुन्
मान्छे तिनकी संतति ।

(श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।)