समाचार

अर्घाखाँचीमा पहिराले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति

६ असार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा लैनो भैँसीसहित चौपाया, दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।

पहिराका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् । यस्तै अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ ।