सुदूरपश्चिम

सुदूरपश्चिमका लागि पिसीआर किट हस्तान्तरण

       ६ असार, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गरेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ ।

         सो क्रममा मन्त्री भट्टले सरकारीस्तरबाट भइरहेका काममा एनआरएनए र नीजि क्षेत्रलगायतबाट भइरहेको सहयोगले कोभिड–१९ नियन्त्रणमा सजिलो हुने बताए। कोभिड–१९ को महामारीपछि भारतमा रहेका झण्डै चार लाख नेपाली सुदूरपश्चिम प्रदेशमा भित्रिएको बताइएको छ ।

त्यसैगरी मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउण्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन काठमाडौँदेखि डडेल्धुरा पठाइएको छ । फाउण्डेसनले सुदूरपश्चिम र स्वदेश तथा विदेशमा रहँदै आएका समाजसेवी, व्यापारीलगायतका दाताबाट सङ्कलन गरिएको रकमले खरिद गरिएको मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने बताइएको छ । सुदूरपश्चिममा हाल एक मात्र पिसीआर मेसिनबाट कोभिड–१९ को परीक्षण भइरहेको छ ।