गण्डकी प्रदेश

स्याङ्जा सहयोग समाज कुवेतद्वारा एम्बुलेन्स सहयोग

६ असार, वालिङ । स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक÷एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताए।

“कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि ब्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रकम सङ्कलन गरेका थियौं,” महासचिव मगरले भन्नुभयो, “हामीले राखेको विशुद्ध सामाजिक कार्यले मूर्तरुप पाएको छ ।” यसअघि हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्यधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो । दुई वटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव मगरले बताए। ग्रामीण वस्तीमा यातायातका साधन प्राप्त गर्न सहज पहुँच नपुग्ने भएकाले बिरामीलाई सहजरुपले ओसारपसार गर्दा राहत हुने समाजका सल्लाहकार विश्वास पुरीले बताए ।

एम्बुलेन्सलाई व्यवस्थितरुपमा चलाउन समिति वनाउने तयारी भइरहेको छ । नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ । चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरुपमा सेवा लिन सक्ने छन् ।

७३ कृषकलाई मौरीसहितको घार

यहाँका ७३ कृषकलाई मौरीसहितको १०० घार ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । भीरकोट नगरपालिका–५ का ७३ किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी पकेट कार्यक्रम अन्तर्गत मौरीको गोलासहितको घार अनुदानमा वितरण गरिएको नगरपालिकाका प्रमुख छायाराम खनालले बताए ।

भीरकोट नगरपालिकाका–३ र ५ वडामा सञ्चालित नवसिर्जना कृषि सहकारी संस्थाको समन्वय तथा कृषि ज्ञान केन्द्र स्याङ्जाको सहयोगमा मौरी पकेट क्षेत्र सञ्चालन गरिएको र सोही पकेट क्षेत्रमा रहेका इच्छुक किसानलाई ५० प्रतिशत अनुदानमा घार उपलब्ध गराइएको नगरप्रमुख खनालले बताए ।

“मौरीपालनका लागि प्रशस्तै चरनको क्षेत्र तथा वन भएकाले पनि भीरकोटमा मौरीपालन व्यवसाय फस्टाउँदो छ,” नगरप्रमुख खनालले भने, “घार प्राप्त गरेका किसानलाई भोलिदेखि नै पाँच दिनको तालिम दिने गरी खबर गरेका छौँ ।”

पहिलो चरणमा भीरकोट–५ का ७३ जना किसानलाई एकसय मौरीसहितको घार वितरण गरिएको छ भने दोस्रो चरणमा वडा नं. ३ मा असार १५ भित्र नै मौरीपालन गर्ने किसानको छनोट गरी एकसय मौरीसहितको घार उपलब्ध गराउने तथा पाँच दिने तालीमसमेत प्रदान गर्ने तयारी भएको भीरकोट मौरी पकेट क्षेत्रका अध्यक्ष नन्दलाल खनालले बताए । महमा औषधीय गुण हुने र यो स्वास्थ्यका दृष्टिले निक्कै उपयोगी भएकाले पनि यसको माग अत्याधिक बढेकाले मौरीपालनतर्फ पछिल्लो समय किसान आकर्षित भएका छन् ।