खेलकुद

विश्वकप छनोटको तयारीबारे नेपाली टोलिले गर्यो छलफल

६ असार काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलको तयारीबारे छलफल गरेको छ । भिडियो कन्फरेन्सको माध्यमबाट राष्ट्रिय टिमका खेलाडीले शुक्रबार घरेलु खेलबारे छलफल गरेको हो ।

छलफलमा राष्ट्रिय टिमका खेलाडीहरु, मुख्य प्रशिक्षक योहान कालिन, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका पदाधिकारीहरु सहभागी रहेका थिए ।

विश्वकप र एसियन कप छनोट अन्तर्गतका बाँकी खेल नेपालले घरेलु मैदानमा खेल्दैछ । एसियन फुटबल फेडेरसन (एएफसी) ले छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।

एन्फाले टिमको प्रशिक्षण जुलाई दोस्रो साताबाट गर्ने निर्णय गरिसकेको छ । कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो । छनोटमा अब नेपालले ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । समूह बी को नेपालले अवे खेल खेलिसकेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।