कृषि

सरकारले बाली लगाउनुपूर्व नै तोक्यो धानको मूल्य

५ असार, काठमाडौँ । सरकारले पहिलो पटक बाली लगाउनुपूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो ।

     समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उनले जानकारी दिए । यसअघि पहिलो पटक सरकारले गहुँको समर्थन मूल्य तोकेको थियो ।
गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो ।