शिक्षा

लकडाउनका कारण विद्यालय बन्द भए पनि अन्य शैक्षिक कार्यक्रम निरन्तर

५ असार, बाजुरा । लकडाउनका कारण विद्यालयको पठन पाठन बन्द भएपनि यहाँको गौमुल गाउँपालिकाले अन्य शैक्षिक कार्यक्रमलाई निरन्तरता दिएको छ । विकासनिर्माण, भर्नादेखि विद्यार्थीको घरमै पाठ्यपुस्तक वितरणका काम सञ्चालन भइरहेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताए ।

केही स्थानीय तहले माध्यमिक तहसम्मको परीक्षासमेत लिन बाँकी छ । आन्तरिक स्वमूल्याङ्कनबाट उत्र्तिण गर्ने तयारी गरिरहेको बेला गौमुल गाउँपालिकाले नियमित पठन पाठन बाहेक अन्य काम गरिरहेको शिक्षा शाखाका कर्मचारी रामनाथ योगीले बताए । स्वयमसेवक खटाएर पुस्तक वितरणदेखि, विद्यालय प्रधानाध्यापकसँगको सहजीकरणमा भर्ना गर्ने काम गाउँपालिकाले गरिसकेको अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

किर्तिचौर र थला मावि बाहेकका २० विद्यालयमा तत्काल पढाई शुरु गर्न सकिने अवस्था छ । दुईवटामा क्वारेन्टिन बनाइएको छ । शिक्षा शाखाका सबै कर्मचारी नियमित काममा खटिएको र स्थानीय शिक्षक तथा प्रअहरुलाई नियमित सम्पर्कमा राखेर भर्ना तथा पुस्तक वितरण कार्य गाउँपालिकाले गरेको हो । शैक्षिक अवस्था खलबलिन नदिन गाउँपालिका सचेत रहेको प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टले बताए।

वैशाख पहिलो साता नै पाठ्यपुस्तक खरिद गर्न स्थानीय तहलाई जानकारी गराएपनि धेरैले अझै प्रक्रिया अगाडि बढाउन नसकेको जिल्ला शिक्षा विकास समन्वय एकाइ प्रमुख गोपालदत्त जोशीले जानकारी दिए । खप्तड छेडेदह गाउँपालिकाले केही दिन देखि पाठ्यपुस्तक बितरण गर्न थालेको छ ।