प्रदेश 1

इलाममा ४० प्रकारका जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने

५ असार, पशुपतिनगर । इलाममा उत्पादन हुने ४० प्रकारका जडिबुटी प्रशोधन गर्न एक नम्बर प्रदेश सरकारले प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । उत्पादित जडिबुटी भारत र चीन निकासी हुने गरेपनि मूल्य कम हुँदा किसान समस्यामा परेपछि प्रशोधन केन्द्र स्थापना गरिने भएको हो ।

इलामको माइजोगमाइ गाउँपालिका २ छिपछिपेमा ५ रोपनी क्षेत्रफलमा प्रदेश सरकारले जडिबुटी प्रशोधन केन्द्र निर्माण गर्ने भएको सामाजिक विकास मन्त्रालयका योजना महाशाखा प्रमुख अम्बिका चौलागाईले बताए। जडिबुटीको मूल्य ८० प्रतिशतसम्म कम भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादूर राइले उक्त जग्गा दान दिनुभएको हो । प्रशोधन केन्द्र बनाउन प्रदेशसभा सदस्यसहित सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले विहिबार संरचना निर्माणबारे स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेको थियो ।

प्रशोधन केन्द्र बनाउन सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका आयुर्वेद विभाग प्रमुख सरोज विश्वासले बताए । ‘डिपिआर निर्माण भएपछि पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरिनेछ’, विश्वासले भने, ‘केन्द्र बनाएपछि स्थानीय तह र जडिबुटी सहकारीको सहकार्यमा सञ्चालन गर्ने योजना छ ।’

केन्द्र स्थापनापछि खेर जाने जडिबुटीले बजार पाउनुका साथै किसानको आर्थिक अवस्था वृद्धि गर्न सहयोग पु¥याउने प्रदेशसभा सदस्य लिम्बुले बताए। इलामको सन्दकपुर र माइजोगमाइ गाउँपालिकामा व्यावसायीक रुपमा किसानले जडिबुटी उत्पादन गर्दै आएका छन् । ‘खेती गरिएको जडिबुटीबाट किसानले अहिले उचित मूल्य पाएका छैनन्’, राइले भने
, ‘ लेकाली बारीमा खेर गएका जडिबुटी सङ्कलन गरेर बिक्री गर्न सकिने भएकाले किसानको आर्थिक अवस्थामा सुधार हुनेछ ।’ केन्द्रको काम गर्न सूर्योदय नगरपालिकाको मेची आयुर्वेद औषधालय मार्फत बजेट कार्यान्वयन हुने औषधालयका वरिष्ठ कविराज तिर्थ आचार्यले बताए । अख्तियारी आउनासाथ काम शुरु हुने आचार्यले बताए । इलामका किसानले चिराइतो, सतुवा, लौठसल्लालगायत ४० प्रकारका जडिबुटीको व्यावसायीक खेती गर्दै आएको डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत यामबहादूर रुम्बाले बताए ।