अन्तर्राष्ट्रिय

भारत सामान्य अवस्थामा फर्किँदैछः प्रधानमन्त्री मोदी

४ असार, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन् ।

विभिन्न बस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको उनले बिहीबार बताएका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ छ ।

उनले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए । लकडाउनका कारण उत्पादन, विक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

व्यवसायीक कोइला उद्योगको उद्घाटन गर्दै उनले भने, “पछिल्लो समयमा फेरि पनि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हुँदै गएको छ ।”

कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले दावी गरे ।

प्रधानमन्त्री मोदीले श्रोतहरुलाई उद्धृत गर्दै बताए अनुसार विद्युत तथा पेट्रोलियम पदार्थको माग पनि पहिला जस्तै हुन थालिसकेको छ ।

“यी सङ्केतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,” उनले भने ।

कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय ठूलो भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउने बताए ।

“केही हप्तापछि हामीले एन ९५ मास्क, कोरोना टेष्ट किट्स, पिपिई, भेन्टीलेटरलगायतका सामग्रीहरु निर्यात गर्नेछौँ,” प्रधानमन्त्री मोदीले भने ।