समाचार

बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

४ काठमाडौँ, असार,निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले एटीआर जहाजमा कार्यरत पाइलट प्रशिक्षणका लागि नयाँ पुस्ताको सिमुलेटर सञ्चालनमा ल्याएको हो । बुद्धले पहिलो पटक नयाँ पुस्ताको सिमुलेटर भित्र्याएको हो । बुद्धले एटीआर विमान निर्माता कम्पनी फ्रान्सबाट पाँच लाख युरोमा खरिद गरेर ल्याएको थियो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सर्टिफाइड भएपछि छिट्टै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । बन्दाबन्दीका कारण अत्याधुनिक सिमुलेटरमार्फत तालीम सुचारु गर्न नसकेको जनाएको छ ।

एटीआर जहाजको उडानलाई सुरक्षित र व्यवस्थित गर्न सिमुलेटर उपयोगी हुने कम्पनीको वरिष्ठ क्याप्टेन (इन्सट्रक्टर पाइलट) प्रमोद थापाले बताए । उनले सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालीको जानकारी लिनसक्ने र यसले पाइलटलाई मात्र नभई प्राविधिक जनशक्तिका लागि पनि सहज हुने बताए ।

“उडान सुरक्षालाई मजबुद बनाउनुका साथै पाइलटको क्षमता र दक्षताका लागि धेरै उपयोगी हुन्छ, सम्भवतः यो दक्षिण पूर्वी एशियामा पहिलो हो”, क्याप्टेन थापाले भने।

उहाँका अनुसार यो एटीआरकै टाइप स्पेसिफीक सिमुलेटर हो । यसको लेआउट हुबहु जहाजकै हुन्छ । कुनै समयमा जहाजको सिस्टम फेल (हाइड्रोलिक, प्रेसराइज्ड) भएको अवस्थामा त्यसको परिणाम, समाधानबारे यो सिमुलेटरमार्फत प्रशिक्षण दिनसकिने उनको भनाइ छ ।

एटीआर जहाजमा भएका सबै उपकरण जडित यो सिमुलेटरमार्फत चालकलाई प्राविधिक प्रशिक्षण दिन सहज हुनेछ । शुरुआती पाइलटका लागि पनि प्राविधिक दक्षता वृद्धि गर्न यो सान्दर्भिक हुने बताइएको छ ।

क्याप्टेन थापाले सिमुलेटरमा ‘स्किल टेस्ट’ र ‘नलेज टेस्ट’ हुने र मोडलअनुसार फ्लाइटको सिस्टमको बारे पाइलटले सबै सिमुलेटरमार्फत थाहा पाउने बताए । उनले भने, “उडान गर्दा मौसम, इन्जिनको अवस्था, इन्धन, दिशालगायतको जानकारी लिनका लागि यो सिमुलेटरबाट प्रभावकारी हुनेछ ।”

पहिला यही प्रकृतिको तालीमका लागि थाइल्याण्डको बैंकक जानुपर्ने बाध्यता थियो । यो प्रविधि सञ्चालनपछि अब नेपालमै सहज रुपमा प्राविधिक क्षमता अभिवृद्धि गर्न उपयोगी हुनेछ । जहाजको कपपिट जस्तै सिमुलेटरमा ‘मेनुअल फङ्सन’ का आधारमा हुन्छ । यसले उडानको जहाजको गति, दुरी, अवतरणका लागि अपनाउनुपर्ने सजकता तथा जहाजमा कुनै पनि किसिमको समस्या आएमा त्यसलाई कसरी निराकरण गर्ने भन्ने गाइड गर्ने जनाइएको छ । उदाहरणका लागि काठमाडौ–कोलकात्ताको उडान गर्दा त्यहाँको ‘होल सिनारियो’ सिमुलेटरबाट प्रशिक्षण दिन सकिन्छ । धावनमार्गको कतापट्टिबाट कसरी अवतरण गर्ने भन्नेबारे सहज जानकारी दिनसकिन्छ ।

नयाँ प्रविधिबारे बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रत्यक्ष अवलोकन गराएको थियो ।