गण्डकी प्रदेश

गोरखा र तनहुँ जोड्ने तुरतुरे पुलमा गएराति बाढीले पुर्याए क्षति

४ असार, गोरखा । गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्याएपछि आवत जावत अवरुद्ध भएको छ । तनुहुँबाट तुरतुरे हुदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्याएको उनले बताए। “पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन, उन भने, “तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।” बाढीले पुलको एकतर्फको भागको बाटो नै बगेको स्थानीयवासी अशोक मरहठ्ठाले बताए ।

उनले पुल मर्मत नगर्दासम्म अब सवारी साधन आवातजावत गर्न नसक्ने अवस्था रहेको बताए । “पानीको बहाव बढ्दा पुलको मुख्य बेस नै करिब चार फिट कटान भएको छ, उनले भने, “बाढीले कटान गरेपछि अहिले त मान्छे हिँड्नसमेत जोखिम भएको छ ।” उक्त बेलीब्रिज पुल करिब १५ वर्षअघि निर्माण भएको हो ।