राजनीति

एमसिसिलाई सरकारले अरुण तेस्रो जस्तै बनाउन खोजेको भन्दै काँग्रेसको आपत्ती

४ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अहिले सर्वाधिक सार्वजनिक वहस र चासोमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) का विषयमा पार्टीका संघीय सांसदहरुसंग छलफल कार्यक्रमको आयोजना गरी यसबारे वहस गरेको छ ।
बुधबार जुम प्रविधि मार्फत आयोजित कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले एमसिसिको विषयलाई फरक–फरक कोणबाट अनावश्यक र उत्तेजक रुपमा प्रस्तुत गरिएकोले यसबारे नेपाली कांग्रेसका सांसदहरु, पार्टीका सदस्यहरु र सिंगो पार्टी पंक्ति स्पष्ट हुनु पर्ने विचार प्रकट गरेका थिए ।
उनले ०४८ पछि अरुण ३ का विषयमा अनेक आपत्तिजनक होहल्ला र विरोध गर्नेहरुले नै अन्तिममा दुई दशकपछि कुनै भारतीय कम्पनीलाई आयोजना जिम्मा दिएको तथ्यलाई भुल्नु नहुने भन्दै निधिले त्यसबेला अरुण ३ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने थियो भनेका छन् । नेता निधिले अहिले एमसिसिलाई पनि त्यस समयको अरुण ३ जस्तै बनाउन खोजिएको हुनाले यसमा नेपाली कांग्रेस गम्भीर छ निधिले स्पष्ट गरे ।

कार्यक्रममा एमसिसि संझौतामा हस्ताक्षर गर्नु हुने तत्कालीन अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रको विकासका लागि, राष्ट्रको हित प्रबर्धनका लागि र अन्तराष्ट्रिय सम्बन्धलाई अझ सबल गराउनका लागि एम्सिसि सम्झौता भएको र त्यसमा कुनै पनि हालतमा राष्ट्रको स्वाभिानमा आँच आउने काम नभएको स्पष्ट गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले नेपाली जनताको हितमा गरिएका विषयहरुलाई जनता सामु स्पष्ट गर्दै नेपाली कांग्रेस अघि बढ्नु पर्ने विचार प्रकट गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसकी सचेतक पुष्पा भूसालले नेपालको आवश्यकता र स्वार्थ अनुरुप भएका विषयहरुमा वखेडा खडा गरी राजनीति गर्नेहरुबाट नै मुलुकको अहित भइरहेको धारणा राखेकी थिईन् ।

कार्यक्रममा एमसिसिका विषयमा योजना आयोगका पूर्व उपाध्यक्षद्वय— डा. गोविन्द पोख्रेल र डा।स्वर्णिम वाग्लेले समग्र पक्षको चिरफार गगरे भने केन्द्रीय सदस्यहरु, सांसदहरु, प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको विषय सन्दर्भ बारे प्रतिष्ठानका सदस्य राजु नेपालले सहजीकरण र नानुमैयाँ वाँस्तोलाले संयोजन गरेका थिए ।