गण्डकी प्रदेश

‘ग’ वर्गका अपाङ्गतालाई प्रोत्साहन भत्ता

तनहुँ, ४ असार । व्यास नगरपालिकाले १४ वटै वडामा रहेका अपाङ्गता भएकालाई प्रोत्साहन भत्ता वितरण शुरु गर्ने तयारी गरेको छ । ‘ग’ वर्गका १३२ जनालाई रु तीन लाख ३० हजार वितरण गर्न लागेको हो । नगरपालिकामा ‘क’ वर्गका ११३, ‘ख’ वर्गका २४०, ‘ग’ वर्गका १३२ र ‘घ’ वर्गका ९५ गरी ५८० जना अपाङ्गता व्यक्ति रहेका छन् ।

सरकारबाट प्राप्त रकम नगरपालिकाले ‘क’ र ‘ख’ वर्गलाई मासिक क्रमशः रु दुई हजार र ‘ख’ वर्गलाई रु एक हजार छ सयका दरले उपलब्ध गराउँदै आएको छ । ‘क’ र ‘ख’ वर्गका अपाङ्गताको लागि नगरपालिकामा मात्रै मासिक रु छ लाख दश हजार खर्च हुने गरेको जनाइएको छ ।

सो नगरपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकालाई वार्षिक प्रोत्साहन भत्तास्वरुप रु दुई हजार पाँच सय प्रदान गर्ने महिला तथा बालबालिका शाखाका कार्यालय सहायक मुना तामाङले जानकारी दिएका छन् । उनका अनुसार सरकारद्वारा मासिक ‘क’ वर्गका लागि रु दुई लाख २६ हजार ‘ख’ वर्गका लागि रु तीन लाख ८४ हजार प्रदान गरेको छ ।

नगरसभाबाट आब ०७६÷०७७ को लागि नगरपालिभित्र रहेका ‘ग’ वर्गका अपाङ्गतालाई सो भत्ता रकम वितरण गर्ने निर्णय अनुसार वितरण शुरु गरिएको उनले बताए । सरकारले ‘ग’ वर्गका व्यक्तिलाई प्रोत्साहन रकम नदिने निर्णय गरे पनि नगरपालिकाले भत्ता वितरण गरेको छ ।

नगरपालिकाको –१ देखि ४ नं वडाका अपाङ्गतालाई केही दिनअघि नै रकम वितरण गरिसकेको छ । त्यसैगरी गत जेठ ३२ गते नगरका १३ र १४ नम्बर वडा, यही असार १ गते १०, ११ र १२ नम्बर वडाका अपाङ्गता भएकालाई पनि उक्त रकम वितरण गरेको छ भने यही असार २ गते ५ र ६ तथा असार ३ गते ७, ८ र ९ नम्बर वडाका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन भत्ता वितरण गर्ने गरी तालिका निर्धारण गरिएको छ ।

‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता बितरण नगरिएको हो तर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।

नगरपालिकाको कोषबाट पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएअनुरुप वितरण कार्य थालिएको नगरपालिकाका उपप्रमुख एवं स्थानीय समन्वय समितिका संयोजक मीरा जोशीले बताए । सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ ।

नगरपालिकाले भने पहिलो कार्ड भएकालाई पनि रकम प्रदान गर्न कार्यपालिका बैठकबाट पारित गरेपछि वितरण कार्य शुरु गरेको उनले जानकारी दिएका छन् । अन्य स्थानीय तहले वितरण गरेको थाहा पाएका छैनौँ, उनले भने “पहेँलो कार्ड लिएका अपाङ्गता भएकालाई प्रोत्साहन वितरण गरेको व्यास नगरपालिका पहिलो हुन सक्छ ।”