आर्थिक

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’

झिमरुक, ४ असार । सरुमारानी गाउँपालिका प्युठानले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् । गत आव ०७५÷०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा बचत कार्यक्रम शुरु गरिएको स्थानीय पालिकाले जनाएको छ । पालिकाका ६ वडामा जन्मने छोरी सो कार्यक्रमबाट लाभान्वित भएका छन् ।

अघिल्लो आवमा जन्मने छोरीलाई मासिक रु एक सय पालिकामा रहेका दुई सहकारीमार्फत जम्मा गरिएको छ । चालु आवमा मासिक रु २ सय जम्मा गर्ने तयारी भइरहेको छ । सो कार्यक्रमका लागि गत वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको शीर्षकमा रु दुई लाख ५० हजार विनियोजन भएको थियो । उक्त विनियोजित रकममार्फत पालिकाभित्रका ७८ छोरीले रु ६० हजार ६ सय बराबरको रकम प्राप्त गरेका छन् ।

चालु आवमा कार्यक्रमका लागि पालिकाले रु तीन लाख बजेट विनियोजन गरेको छ । सोहीअनुसार एक छोरीलाई रु दुई सयका दरले सहकारीमा केही दिनमै रकम जम्मा गरिदिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर घर्तीले बताए ।

सिर्जनशील सोचका साथ जिल्लामै नमूना कार्यक्रम गाउँपालिकाले ल्याएको अध्यक्ष झगबहादुर विश्वकर्माले बताएका छन् । गाउँमा छोरी भएका कारण हुने भु्रणहत्या, बालविवाह तथा आर्थिक समस्याका कारण बीचमा पढाइ छोड्ने बानीलाई हटाउनका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।