सुदूरपश्चिम

२०० विद्यालय क्वारेन्टिनमा प्रयोग

बैतडी, ४ असार । यहाँका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । जिल्लाका ९५ प्रतिशत विद्यालय क्वारेन्टिमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन् । हाल २५० स्थानमा गरी छ हजार ९८९ बेडका क्वारेन्टिन रहेका छन् । उनले भने, “खुला ठाउँ र राख्नको लागि सहज हुने भएको विद्यालयमा बढीजसो क्वारेन्टिन निर्माण गरिएका हुन् ।” यस्तै केही स्वास्थ्यचौकी, सामुदायिक भवनमा पनि क्वारेन्टाइन बनाइएका छन् ।

यस्तै चार स्थानमा ३६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिएका छन् । भारतलगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हाल तीन हजार जना क्वारेन्टिनमा बसिरहेका छन् ।

त्यस्तै कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै पूर्वतयारीस्वरुप बैतडीमा कम्तीमा २०० बेडको आइसोलेसन कक्ष बनाइँदैछ । कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या बढाउँदै लगिएको हो । जिल्लामा २७ सङ्क्रमित र ४०० बढीको आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी छ ।

पिसिआर रिपोर्ट आउँन बाँकीमा कोरोना पुष्टि भइहाले पनि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा बेडको सङ्ख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् । उनले भने, “प्रत्येक स्थानीय तहमा कम्तीमा २० बेड क्षमता भएका आइसोलेसन बनाउन पत्राचार गरिएको छ ।”

कोरोना भाइरस जोखिम नियन्त्रण तथा रोकथाम जिल्लास्तरीय समन्वय समितिको बैठकबाट निर्णय भएबमोजिम आइसोलेसन निर्माण गरिने लागिएका हुन् । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको र धेरैले निर्माण प्रक्रिया पनि शुरु गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् । उनले भने, “सङ्क्रमित थपिन सक्ने भएकाले पूर्वतयारीस्वरुप पालिकामा आइसोलेसन वार्ड निर्माणका काम भइरहेको छ ।” बैतडीका विभिन्न स्थानमा गरी यसअघि ३२ बेडको मात्रै आइसोलेसन रहेको छ । हालसम्म जिल्लाका २७ जनामा कोरोना पुष्टि भएको छ ।

परीक्षणमा ढिलाइ

जिल्लामा शङ्कास्पद र आरडिटी पोजेटिभ आएका नागरिकको पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा समस्या हुने गरेको छ । स्वाब सङ्कलन भएको एक हप्ता बढी भइसकेको भए पनि रिपोर्ट नआउँदा महिना दिनसम्म क्वारेन्टिनमै बस्नुपर्ने बाध्यता रहिआएको छ । सुदूरपश्चिम प्रदेशमा एक मात्र पिसिआर प्रयोगशाला धनगढीमा रहेकाले नमूनाको चाप बढ्दा समयमै रिपोर्ट नआउने समस्या रहेको छ ।

प्रदेश सरकारले गत चैतमा प्रदेशका बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने भने पनि तीन महिना पुग्नै लाग्दासमेत हालसम्म पनि स्थापना हुन सकेको छैन ।