खेलकुद

युभेन्ट्सलाई हराउँदै नापोलीले जित्यो कोपा ईटालियाको उपाधि

एजेन्सी । युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

अर्काडियस मिलिकले नापोलीका लागि पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । युभेन्ट्सका पाब्लो ड्याबाला र ड्यानिलो पेनाल्टी सुटआउटमा असफल भएका थिए । नापोलीका प्रशिक्षक गेनारो गट्टुसोले ईटालियन क्लबबाट पहिलो उपाधि उचालेको हुन् ।

नापोलीका पूर्व प्रशिक्षक मौरिसियो सर्री सोही उपलब्धी हासिल गर्नबाट बिमुख रहे । उनी तीन बर्ष अघि नापोली छाड्दै लण्डन क्लब चेल्सी गएका थिए । लगत्तै अर्को सिजन उनी युभेन्ट्स फर्किएका थिए । यस सिजनको सिरि ए फुटबलमा भने युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग एक अंकको अग्रता कायम गरेको छ ।