गण्डकी प्रदेश

महानगरपालिकाद्वारा ६८० सुत्केरीलाई पौष्टिक आहार

३ असार, काठमाडौं । पोखरा महानगरपालिकाले बन्दाबन्दी समयमा ६८० सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको छ ।

कोरोना सङ्क्रमणपछि जारी बन्दाबन्दीमा सुत्केरी माइती जान नपाउने र आफन्तसमेत भेट्न आउन नपाउने भएकाले अभिभावकीय जिम्मेवारी पूरा गर्दै महानगरले सुत्केरीलाई एकएक किलो घिउ र हर्लिक्स, एक लिटर तेल, साबुनसहित रु पाँच सय उपलब्ध गराउँदै आएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए ।

पोखरा महानगर भण्डार शाखाका रेवती भण्डारीले बन्दाबन्दीमा सुत्केरीलाई पौष्टिक तत्वका लागि १३ लाख ६० हजार खर्च भएको जानकारी दिए ।

भण्डारीका अनुसार सरकारले यही असार १ गतेदेखि लकडाउन खुकुलो बनाएसंँगै सुत्केरीको आहार वितरण अभियान बन्द भएको छ भने गत जेठ ३२ गतेसम्म नाम टिपाएकाहरुलाई पौष्टिक आहार वितरण गरिने छ ।