समाचार

आत्महत्या गरेका ४५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

३ असार, अर्घाखाँची । यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो ।

गए राति उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण
चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढीमा रहेको इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा कार्यरत एक प्रहरी जवानमा कोरोना सङ्क्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा ३१ वर्षीय जवानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई खरेन्द्रपुरमा रहेको आइसोलेशन सेन्टरमा राखिएको शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले बताए ।

      आज कपिलवस्तुमा थप १० मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा १९ वर्षदेखि ४५ वर्षसम्मका चार, वाणगङ्गा नगरपालिकाका एकएक महिला र पुरुष, बुद्धभूमि नगरपालिकामा १९ देखि ३० वर्ष उमेरसम्मका चार जनामा कोरोना पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा ६५७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।