शिक्षा

वैकल्पिक विधिले ज्ञानमा रुपान्तरणः शिक्षामन्त्री पाेखरेल

३ असार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइ पद्धतिका कारण शिक्षा ज्ञान हस्तान्तरण मात्र नभर्ई अब ज्ञान निर्माणको थलोमा समेत रुपान्तरण हुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले विद्यार्थी स्वाध्यानमा केन्द्रित हुँदै र घरपरिवारलाई नै लघु विद्यालयमा रुपान्तरण गरिँदा ज्ञान हस्तान्तरणसँगै ज्ञान निर्माणमा रुपान्तरण हुने भएको बताएका छन् ।

उनले कोरोना महामारी र बन्दाबन्दीका कारण खुला तथा दूर र वैकल्पिक शिक्षा बाध्यतात्मक अवस्था भएकाले गत जेठ १८ गते जारी भएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ को कार्यान्वयनका क्रममा यही असार १ देखि खुला तथा दूर शिक्षा प्रारम्भ भएकाले कार्यान्वयनका लागि सबै प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।

हाल करिब तीन हजार सामुदायिक विद्यालयमा क्वारेन्टिन कायम रहेकाले पनि तत्काल पढाइ सञ्चालन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री पोखरेलले विद्यार्थीलाई सबै किसिमका प्रविधिको पहुँचभन्दा बाहिर रहेका, रेडियो तथा टेलिभिजन र सूचना सञ्चारमा पहुँच भएका जस्ता गरी छ प्रकारमा वर्गीकरण गरी ती सबैको सिकाइमा निरन्तरता हुने गरी निर्देशिका ल्याइएको छ भने।

“परिवेश अनुकूल कुनै पनि माध्यमबाट सिक्नसक्ने गरी सिकाइ निरन्तरताका लागि गरिएको आह्वानअनुसार अधिकांश स्थानीय तहमा कार्यक्रम अघि बढेको छ । यस कार्यक्रममलाई १५ दिनको समीक्षा गरी थप ढाँचाबारे निर्णयमा पुगिनेछ”, उनले भने, “हालको विशिष्ट स्थितिलाई ध्यानमा राखी कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको तयारी भइरहेको छ र स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षाबारे उपयुक्त समयमा सञ्चालन गर्न विश्वविद्यालयहरुले गृहकार्य गरिरहेका छन् ।”

मन्त्री पोखरेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा दिन मन्त्रालय लागिरहेको र निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ कार्यान्वयनका लागि नियमावली ल्याउन लागिएको जानकारी दिँदै शिक्षामा बजेट पर्याप्त नभए पनि विषम स्थितिमा केही बजेट वृद्धि भएकामा सन्तोष व्यक्त गरे । उनले शिक्षक अभावको समस्या समाधान गर्न दीर्घकालीन उपाय सोचिएको र तत्कालका लागि निर्वाह भत्ता दिएर शिक्षण स्वयंसेवक परिचालन गरिने बताउँदै द्वन्द्वपीडित शिक्षकका विषयमा सरकारले चाँडै निर्णय गर्ने जानकारी दिए ।