गण्डकी प्रदेश

नवलपरासीमा व्यवस्थित बसपार्क निर्माण शुरु

३ असार, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सदरमुकाम परासीमा बसपार्क निमार्णको काम शुरु भएको छ ।

सवारी पार्किङको समस्या समाधानका लागि रामग्राम नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयको करिब सात करोड लगानीमा क्रमागत रुपमा बसपार्क निमार्णको काम थालिएको छ ।

पहिलो चरणमा चालू आर्थिक वर्षमा बसपार्क निर्माण गरिने क्षेत्रफलमा कम्पाउन्ड वाल (पर्खाल) निमार्ण सम्पन्न गर्ने गरी कार्य भइरहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

रामग्राम–४ केरवानीस्थित एक बिघा १५ कट्ठा क्षेत्रफलमा निर्माण हुने सुविधासम्पन्न बसपार्कमा कार्यालय सञ्चालन भवन, टर्मिनल, पार्किङस्थल, स्नानगृह, चमेनागृह र शौचालयलगायत आवश्यक अन्य भौतिक संरचना निर्माण हुनेछन् ।

आर्थिक वर्ष ०७९/८० सम्म निमार्ण पूरा गर्ने लक्ष्य लिएको सो बसपार्क आर्थिक वर्ष २०७७/७८ मा शहरी विकास मन्त्रालयको करीब पाँच करोड र बाँकी अपुग रकम नगरपालिकाले लगानी गर्नेछ । निर्माण हुने सो सुविधायुक्त बसपार्कमा जिल्ला भित्रिने र बाहिरिने विभिन्न रुटका सार्वजनिक सवारीसाधनलाई व्यस्थापन गरिने लक्ष्य रहेको रामग्राम नगरपालिकाले जनाएको छ ।