बाग्मती

आवश्यकताका आधारमा बजेटका प्राथमिकता निर्धारण भएको छः मन्त्री ढुङ्गेल

३ असार, हेटौँडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको बताएका छन् ।

प्रदेश सभाको आज बैठकमा आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताबारे सदस्यले उठाएका विभिन्न प्रश्न र जिज्ञासाको जवाफ दिदैं उनले वर्तमान परिस्थितिको सबै कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेको हो ।

मन्त्री ढुङ्गेलले दिगो पूर्वाधार विकास र कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि उच्च प्रविधिको अस्पताल, दक्ष चिकित्सक र जनशक्तिको साथै क्वारेन्टिन र आइसोलेशन कक्षको व्यवस्थापन गर्न यो बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको तथा रोजगारीको सिलसिलामा बाहिरबाट फर्किएका नेपालीलाई कृषि उत्पादन, पशुपालन, फलफूल खेतीतर्फ आकर्षित गर्ने कार्यक्रमलाई बजेटमा सामावेश गरिएको जानकारी दिए ।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा र व्यवहार सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।