आर्थिक

क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकासा

३ असार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले स्थापना तथा व्यवस्थापन गरी सञ्चालनमा रहेका क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकास गरेको हो ।

मन्त्रालयले १७६ स्थानीय तह र स्थलमार्गबाट आउने नाका अन्तर्गतका २० वटा स्थानीय तहमा बन्ने होल्डिङ सेन्टरका लागि रकम निकासा गरिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारले जानकारी दिए । उनका अनुसार क्वारेन्टिनका लागि १७६ स्थानीय तहलाई १३ करोड २२ लाख ५६ हजार ८२५ र २० वटा होल्डिङ सेन्टरका लागि दुई करोड ७७ लाख २३ हजार निकासा गरिएको छ ।

यसरी निकासा गरिएको रकम स्थानीय तहले क्वारेन्टिनमा बसेका व्यक्तिको बसोवास, बन्दोबस्त र खानपिनको व्यवस्था गर्न र आवश्कता अनुसार स्वास्थ्य परीक्षण गर्नका लागि खर्च गर्ने छन् । प्रवक्ता अधिकारीले कोभिड व्यवस्थापन सूचना प्रणालीमा पठाएको विवरण अनुसार १७६ स्थानीय तहलाई रकम पठाइएको बताउनुभयो । भारतबाट स्थलमार्ग हुँदै २० वटा नाकाबाट नेपाल प्रवेश गरेका व्यक्तिलाई राख्न होल्डिङ सेन्टर स्थापनाका लागि उक्त रकम पठाइएको हो ।