समाचार

लकडाउनः बैशाखमा उपभोग्य वस्तुको आयातमा कमी, रेमिट्यान्स आय घट्नसक्ने

३ असार काठमाडौं । कोरोना भाइसर संक्रमणबाट बच्न सरकारले अघि सारेको बन्दाबन्दी (लकडाउन)का कारण वैशाखमा उपभोग्य वस्तुको आयात घटेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वैशाखको समष्टिगत आर्थिक विवरणले यस्तो देखाएको हो ।

वैशाखमा व्यापारघाटा अघिल्लो वर्षभन्दा १४.२० प्रतिशत घटेर ९ खर्ब ४३ अर्ब ७ करोडमा झरेको बताएको छ । गत वर्ष वैशाखमा व्यापारघाटा १९.७० प्रतिशत बढोत्तरी भएको थियो । आर्थिक वर्ष २०७२÷७३ पछि यो वर्ष पहिलोपटक व्यापार घाटाको विस्तार ऋणात्मक भएको हो ।

चालु आर्थिक वर्षको १० महिनामा मुलुकले जम्मा १० खर्ब २५ अर्ब रुपैयाँको सामान आयात गरेको छ । यो अघिल्लो वर्षकोभन्दा १३ प्रतिशत कम हो। भारतबाट हुने आयात त १७.५ प्रतिशत घटेको छ । यसबीच पेट्रोलियम पदार्थ, सवारी साधन र तिनका पार्टपुर्जा, छडलगायत फलामका सामान उत्पादन गर्ने एमएस बिलेट, सुन, सिमेन्टजस्ता वस्तुको आयात घटेको राष्ट्र बैंकले बताएको छ ।

लकडाउनका कारण केही हदसम्म सहरी जनसंख्या ग्रामीण क्षेत्रमा स्थानान्तरण भएको विकास निर्माणका काम समेत धेरैजसो रोकिएकाले समग्र उपभोग कम भएको देखिएको हो । पाम, सोयाबिन र तोरीका तेल, रासायनिक मल तथा कम्प्युटरका पार्टपुर्जाको आयात भने लकडाउनमा पनि बढिरहेको देखिएको छ ।

उपभोगसँगै महँगिको दर पनि वैशाखमा केही कम भएको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा झण्डै ७ प्रतिशतको नजिक पुगेको औसत मूल्यवृद्घिको दर (मुद्रास्फिति) वैशाखमा ५.८३ प्रतिशतमा झरेको छ । वैशाखमै पनि फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसलाको मूल्य उच्च दरमा बढेको राष्ट्र बैंकले बताएको छ। जेठमा भने यस्तो मूल्यवृद्घिको दर कम हुनसक्ने राष्ट्र बैंकका अधिकारीले बताएका छन ।

रेमिट्यान्स आयमा भने यसअघिका अनुमानभन्दा उल्लेख्य सुधार भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वैशाखसम्म ६.१ प्रतिशतमात्र घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ भित्रिएको तथ्यांक सार्वजनिक गरेको र व्यवसायीले यो अन्तर अझ बढी हुनसक्ने अनुमान गरेका थिए । आगामी असार मसान्तसम्म कम्तीमा ३० प्रतिशत रेमिट्यान्स आय घट्नसक्ने व्यवसायीको अनुमान छ । यद्यपि, वैशाखमा अमेरिकी डलर र खाडी क्षेत्रका सबैजसो मुद्रा महँगिएकाले पनि रेमिट्यान्स बढी देखाउन थोरै भए पनि सहयोग पुगेको थियो ।

राष्ट्र बैंकले वैशाख मसान्तको तथ्यांकका आधारमा २३ हजार २ सय ६६ ऋणीलाई कृषि तथा पशुपालनका लागि ५० अर्ब ७८ करोड ऋण दिइएको बताएको छ । अन्य शीर्षकमा सहुलियतपूर्ण कर्जा पाउनेको संख्या ५ हजार ४ सय २१ जना छ । उनीहरूलाई ३ अर्ब ७० करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।