खेलकुद

लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि बार्यनको हातमा

एजेन्सी । बार्यन म्युनिखले लगातार आठौं पटक बुन्डेसलिगाको लिग उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बार्यनले दुई खेल अगावै लिग उपाधि जितेको हो । खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

पोल्याण्डका फरवार्ड लेवान्डोस्कीले लिगमा ३१ औं गोल पुरा गरे । कुनै एक सिजनमा लिगमा धेरै गोल गर्दै विदेशी खेलाडीको कीर्तिमानी लेवान्डोस्कीले समेत बराबरी गरे । यसअघि सन् २०१६–१७ को सिजनमा आर्सनलमा रहेका फरवार्ड पियरिक ईम्रिक अबुमियाङले बोरुसिया डर्टमण्डबाट ३१ गोल गरेका थिए ।

लिगमा ७ अंकको अग्रता रहेको बार्यनलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । बार्यनले दुई खेल बाँकी छदै लिग उपाधि उचाल्न सफल रह्यो । बार्यनले गत सिजन समेत अन्तिम दिनमात्र लिग उपाधि उचालेको थियो । उसले घरेलु मैदान एलिनाज एरिनामा ७५ हजार दर्शक सामु जित सहित उपाधि उचालेको थियो ।

तर मंगलबार बार्यनले दर्शक बिहिन रंगशालामा लिग उपाधि आफ्नो पक्षमा पार्यो । कोरोना भाईरसको महामारीको कारण मैदानमा दर्शक उपस्थित थिएनन् । बार्यनले सन् २०१३ देखि बुन्डेसलिगामा लगातार जित निकाल्दै आईरहेको छ । बार्यनले तीन खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग १० अंकको स्पष्ट अग्रता कायम गर्यो ।

शीर्ष स्थानको बार्यनको ७६ अंक रह्यो । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।