खेलकुद

टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने एन्फाको निर्णय

३ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमितिको आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेको कारबाही प्रकृयालाइ यथावत राख्दै पुन सोही पदमा फर्काउने निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पा नेतृत्वको वर्तमान कार्यसमिति एन्फा नेतृत्वमा आए लगत्तै घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो । तर टासीसंग आन्तरिक विवाद बढ्दै गएपछि एन्फाले मानार्थ पद खारेज गर्दै टासीलाई पद मुक्त गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को दबाबमा पुन एन्फाले टासीलाई मानार्थ अध्यक्षमा फर्काएको हो ।

बैठकमा एन्फा अध्यक्ष शेर्पाले घलेले गल्ती स्विकार गर्दै पुन एन्फामा फर्कन चाहेको उल्लेख गर्दै मानार्थमा फर्काउनुपर्ने राय राखेका थिए । यस्तै, बैठकले गौतम सुखजु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई भंग गर्दै १३ सदस्यीय तदर्थ कमिटि गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघको कार्यसमितिलाई भंग गर्दै तदर्थ कमिटि गठन गरेको हो । भक्तपुर जिल्ला फुटबल संघको बिषयमा अनुसन्धान गर्न एन्फाले लिग निर्देशक सञ्जिव मिश्र र कार्यसमिति सदस्य मधुसुधन उपाध्यायको नेतृत्वमा कमिटि गठन गरेको थियो ।

दुवै कमिटिको प्रतिवेदनका आधारमा एन्फा कार्यसमिति बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई भंग गर्दै तदर्थ कमिटि गठन गर्ने निर्णय गरेको हो । बैठकले कोरोनाले प्रभावित बनाएको फुटबल गतिविधि पुन सुरु गर्न राखेपसंग माग गरेको छ । बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्ग अनुपस्थित रहेका थिए ।

उनी स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित रहेको एन्फा स्रोतले बतायो । मानार्थ अध्यक्ष र भक्तपुर जिल्लाको बिषयमा निर्णय गर्न एन्फाले हिजो (सोमबार) आपतकालिन समितिको बैठक आह्वान गरेको थियो । तर वरिष्ठ उपाध्यक्ष अनुपस्थित रहेपछि बैठक स्थगित भएको थियो । लगत्तै एन्फाले कार्यसमितिको आपतकालिन बैठक आह्वान गरेको थियो ।