राजनीति

ओली सरकारमा भ्रष्टाचार र अनियमितता बढ्याेः प्रवक्ता शर्मा

२ असार, बनियानी । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि काँग्रेसले सहयोग गर्ने बताए ।

देश र जनताको रक्षा गर्नुपर्ने सङ्कटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । सपना बाँडेर मात्र रोग र भोकबाट बच्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो । “सङ्कटको सामना गर्न प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेका बेला उल्टै भ्रष्टाचार र अनियमितता बढेको छ”, उनले भने, “जसका कारण काँग्रेस देशव्यापी विरोधमा उत्रिनु परेको छ ।”

सडकमा उत्रिएर युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्किनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति नै बाधक भएको भन्दै उनले समृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको विरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस रहने बताए ।