राजनीति

१० बुंदेमागसहित प्रमुख प्रतिपक्षी दल काँग्रेस यसरी उत्रियो प्रधानमन्त्री ओली बिरुद्ध

२ असार, काठमाडौं । नेपाली काँग्रेसले कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार प्रवृत्तिका विरुद्ध आज स्वदेश र विदेशका १२० स्थानमा विशेष ज्ञापनपत्र बुझाउने महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको जनाएको छ । काँग्रेसले प्रतिकुल परिस्थितिमा पनि उत्साहपूर्वक सम्पन्न कार्यक्रमहरु मार्फत नेपाली कांग्रेसले कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रह सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको भनेको छ ।

सामाजिक दुरि कायम गर्दै, विशेष ज्ञापन पत्र निम्नानुसार बुझाइएको जनाउँदै संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष, नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष, विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष गरी चार निकायमा ज्ञापनपत्र बुझाएको काँग्रेसले जानकारी दिएको छ।

काँग्रेसले पूर्ब घोषित कार्यक्रमअनुसार गरिएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र मार्फत निम्न माग सरकार समक्ष राखिएको बताएको छ । यस्ता छन् काँग्रेसका ज्ञापनपत्रमा प्रश्तुत गरिएका १० बुंदे मागहरुः

१, आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाइनु पर्ने ।
२, स्वास्थ सामग्रीको अपर्याप्त स्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गरिनुपर्ने ।
३, क्वारेन्टाइनमा मृत्यु देखि बलात्कार सम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनु पर्ने ।
४, श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका ब्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने ।
५, बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार क्रममा निर्धारित अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्ने ।
६, स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही र यस बीचमा भएको भनिएको दस अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ।
७, लक डाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली बिद्यार्थी मानसिक तनाव ब्यहोरिरहेका छन् । गम्भीर राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथासिघ्र निर्माण गरिनुपर्ने ।
८, खेतिको मौसम मध्यनजर गरेर कृषि उत्पादनका सम्बन्धमा वातावरण, मल, बिउ देखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने ।
९, लक डाउनका कारण साना–ठुला ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गरिनुपर्ने ।
१०, औधोगिक उत्पादनमा सरिक श्रमिक देखि श्रमजीवी पत्रकार सम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई विविध ढंगले राहत योजना ल्याइनुपर्ने ।

संघ, प्रदेश, जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुले यी सुझाव र मागहरू संगै अन्य आवश्यक सुझाव र माग समेटेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको काँग्रेसले भनेको छ।

सरकारलाई संकट सामना गर्न नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने पार्टी मुख्यसचिव कृष्णचन्द्र पौडेलले विज्ञप्ती जारी गर्दै स्पष्ट गरेका छन्।