समाचार

राष्ट्रिय बालअधिकार परिषद द्रवारा छ जना बालकको उद्धार

२ असार, काठमाडौँ । भक्तपुरमा सडकमा भेटिएका छ जना बालकको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) को समन्वयमा भक्तपुरको कमलविनायकबाट पाँच जना र ठिमीबाट एक जना गरी छ जना बालकको उद्धार गरेको हो ।

उद्धार गरेलगत्तै उनीहरुको पुनःस्थापना केन्द्रमा व्यवस्थापन गरिएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । बन्दाबन्दीको समयमा भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खबर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषद्लाई निर्देशन दिएका थिए । त्यसलगत्तै सडकमा भेटिएका ती बालकको असार १ गते अपराह्न उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषद्ले मिलाएको हो ।

लकडाउनको यस अवधिमा काठमाडौँ उपत्यकाभित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ ।

यसैबीच मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाइन सेवा ‘१०४’ मा तत्काल खबर गर्न सबैलाई पुनःआग्रह गरेका छन् ।