समाचार

स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

२ असार, काठमाडौँ । कोभिड–१९ विरुद्ध अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकलगायत स्वास्थ्यकर्मीको सुरक्षाका लागि इजरायल सरकारले नेपाललाई विविध स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज भएको सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि इजराजयका राजदूत बेनी ओमेरले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरे ।

त्यसअवसरमा मन्त्री ढकालले स्वास्थ्य उपकरण प्रदान गरेकामा इजरायल सरकार र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट कोरोनालाई परास्त गर्न सकिने विश्वास व्यक्त गरे । राजदूत ओमेरले कोरोनाको महामारीविरुद्धको लडाइँमा आफ्नो देश र नेपाल एकसाथ रहेका भन्दै असहज अवस्थामा नै वास्तविक मैत्री प्रमाणित हुने बताए । आज प्रदान गरिएका सहायता सामग्रीमा ५५० वटा पीपीई, १० हजार थान मास्क, पाँच हजार पञ्जा, स्यानिटाइजरलगायत छन् ।