प्रदेश 1

लकडाउनमा निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द

मङ्गलबारे, २ असार । कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गरेको लकडाउनपश्चात निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएको भन्दै किचन बन्द भएको हो ।

इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउने अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष तथा समाजसेवी देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देश–विदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।

इलामेली किचन नाम दिएर सञ्चालित अभियानमा दैनिक १०० बढीले खाना खाने गरेका थिए । गत चैत १५ गतेबाट शुरु भएको अभियानमा बजार आएकामात्र होइन, सडकपेटीमा बस्ने, मागेरै जीविकोपार्जन गर्नेदेखि तरकारी बेच्न आएकाहरुले समेत खाना खाएको अभियानकर्मी पौडेलले बताए । उनले यस कार्यले धेरैलाई राहत मिलेको बताएका छन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि दिनदिनै थपिँदै गइरहेको छ । यस महामारीको सङ्क्रमण र जोखिम रोक्न सरकारले चरणबद्धरूपमा देशमा लकडाउन गर्ने गरेको अवस्थामा सो किचनले बजार आएकालाई सहयोग पुर्याएको अभियानकर्मी श्रेष्ठले बताएका छन् ।

स्थानीय सरकारले गरिब, असहाय, विपन्न तथा श्रमिकलाई सकेजति राहत उपलब्ध गराउँदै आएको भनिए पनि यहाँ खाना खान १०० भन्दा बढी उपस्थित हुने गरेका थिए । इलाममा स्थानीय सरकारले एकातिर राहत उपलब्ध गराइरहेको छ भने अर्कोतर्फ लकडाउनको समयमा काम गरेर खाने श्रमिकका साथै गरिब तथा विपन्न एवं सडकपेटीमा बस्नेलाई लक्षित गरेर इलाम बजारमा निःशुल्क खाना खुवाउने व्यवस्था गरिएको हो ।

अत्यावश्यक कामले गाउँगाउँबाट आएका मानिसले बजारमा होटल बन्द हुँदा खाना नपाएर भौँतारिरहेको अवस्था तथा अस्पतालमा ल्याइने बिरामी र कुरुवालाई खानाको व्यवस्था नभएको अवस्थासमेत आउन थालेपछि जिल्लाका युवाहरूको सक्रियतामा इलाम बजारमा निःशुल्क खानाको व्यवस्था गरिएको थियो । युवाहरुको यस कार्यको सबैले खुलेर प्रशंसा गरेका छन् । इलाम नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा समेत सोही किचनबाट खाना लगेर खुवाउने गरिएको थियो ।