समाचार

बन्दाबन्दीपछि निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द

१ असार, मङ्गलबारे । कोरोना भाइरसको संक्रमण बढ्ने भएपछि सरकारले गरेको बन्दाबन्दीपछि निरन्तर ७७ दिन निःशुल्क खाना खुवाएको इलामेली किचन बन्द भएको छ । लकडाउन खुकुलो भएसँगै केही सहजता भएकाले सो भान्छा बन्द भएको हो ।

इलाम बजारमा किनमेल गर्न आएका र अस्पतालमा बिरामी लिएर आएकाहरुलाई निःशुल्क खाना खुवाउन अभियान नै सञ्चालन गरिएको थियो । होटल एशोसिएशन इलामका अध्यक्ष देवी पौडेल र समाजसेवी सुमन श्रेष्ठको पहलमा सो अभियान सञ्चालन गरिएको थियो । अभियान सञ्चालन भएपछि देशविदेशबाट समेत खाना खुवाउन सहयोग प्राप्त हुँदै आएको थियो ।

इलामेली किचन नाम दिएर सञ्चालन भएको सो भान्छामा दैनिक करीब एक सय जनाले खाना खाने गरेका थिए । गत चैत १५ गतेदेखि शुरु भएको अभियानमा बजार आएका तथा सडकपेटीमा बस्ने, मागेरै जीविकापार्जन गर्नेदेखि तरकारी बेच्न आएकाहरुले समेत खाना खाएको बताउँदै पौडेलले यस कार्यले धेरैलाई राहत मिलेको जिकिर गरे ।