राजनीति

काँग्रेसको ध्यानाकर्षणः क्वारेन्टाइनमा सामूहिक बलात्कार! सरकार आफ्नो अनुहार हेर

१ असार, काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता एवं प्रमुख सूचना, संचार तथा प्रचार विभाग विश्वप्रकाश शर्माले क्वारेन्टाइनमा बलात्कार जघन्य अपराध गर्ने दोषिलाई कार्वाही गर्न माग गरेका छन् । नेता शर्माले क्वारेन्टाइनको बेथितिमा सरकार आफ्नो अनुहार हेर्न आग्रह गर्दै

कैलाली जिल्लाको एक क्वारेन्टाइनमा बलात्कारको घटना भएको समाचार अत्यन्तै निन्दनीय र गम्भीर भएको बताएका छन् । शर्माले विज्ञप्ती जारी गर्दै, ‘घटनामा जो कोहि सामेल हुन्, बिना कुनै मोलाहिजा कडा कार्वाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।’ भनेका छन् ।

काँग्रेसले भनेको छ, ‘कैलालीको घटनामा दोषीलाई कानूनी कार्वाही संगसंगै क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् । अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन् । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्तत बलात्कार सम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’

काँग्रेसले नेपालमा तीन तहका सरकार भएपनि क्वारेन्टाइनमा एउटा चेलिको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ ? भन्दै प्रश्न गरेको छ ।
क्वारेन्टाइनको ब्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गांसिन्छ कि गांसिन्न ? भन्दै बलात्कारमा सामेललाई कानूनी कार्वाही संगै यो घटनाको गम्भीर समिक्षा गरेर राज्यको जिम्मेवार पदमा रहेर गैह्र जिम्मेवार बन्नेहरुलाई दोषको मात्रा अनुरुपको विविध कार्वाही गर्न नेपाली कांग्रेस माग समेत गरेको छ।

क्वारेन्टाइनका बेथितिहरु समेत विरुद्ध दबाब दिन नेपाली कांग्रेसले असार २ गते स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई बिशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको स्मरण पनि गराएको छ ।