खेलकुद

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडको सहज जित

१ असार काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

अल्फ्रेडो डी स्टेफानो मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो । दोस्रो हाफमा इबरले एक गोल फर्कायो । खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन् ।

जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ । र, उपाधि होड कायम राखेको छ । बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ । पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।