अन्तर्राष्ट्रिय

फ्रान्समा आजदेखी प्रतिबन्धात्मक व्यवस्थाहरू उल्लेख्य रूपमा खुकुलो बनाइँदै

१ असार काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोनाभाइरस सङ्क्रमणका कारण लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । आजबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने र अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ । टेलिभिजनमार्फत्‌ गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले पहिलो जित हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिएका छन् । यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो ।

माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ । मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने पनि माक्रोँले पुष्टि गरेका छन् । तर उनले भाइरस फैलाउने मुख्य स्थान भन्दैू ठूला सभाहरूको आयोजनामा भने कडा रूपमा नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९,४०० भन्दा बढी छ। त्यस्तै १,९४,००० सङ्क्रमणका घटना पुष्टि भएका छन् । फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो । त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो ।